४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताएका छन् ।
स्व. गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उनी समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको उल्लेख गरे । सभापति देउवाले भने, “उहाँ बिपी पछिका समाजवाद बुझेको नेता हो । समाजवादका बारेमा भन्न सक्ने र ब्याख्या गर्न सक्ने नेता हो । त्यसैले उहाँले लेखेका कुरा र विचार हाम्रो पार्टीले ‘कम्पाइल्ड’ गरेर राख्नुपर्छ ।”
स्व. प्रदीप गिरि अध्ययनकर्ता मेहिनती र धेरै राजनीतिक ज्ञान भएको नेता भएको बताउँदै सभापति देउवाले उनी सधैँ प्रजातन्त्रको पक्षमा रहनुभएको उल्लेख गरे । “प्रजातान्त्रिक समाजवाद बहुदलमा विश्वास गर्ने स्व नेता गिरिले सधैँ सहयोग गर्नुभयो तर मन्त्रिपरिषद्मा बस्नुुस् भन्दा मान्नु भएन”, सभापति देउवाले स्मरण गरे ।
कांग्रेसमा कदमजम (कर्णाली, दलित, मधेसी, जनजाती, महिला) पनि स्व नेता गिरिकै धारणा भएको भन्दै सभापति देउवाले उनी सच्चा मानेमा समावेशीताको पक्षधर नेता भएको बताए । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले स्व गिरिले मधेस र पहिचानका आन्दोलनलाई अधिकारको आन्दोलन भनी सधैँ समर्थन गरेको स्मरण गरे । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्व गिरि लोकतन्त्रका लागि सङ्घर्षरत अभियन्ता भएको बताउँदै उनको योगदानलाई लिपीबद्ध गर्नुपर्ने सुझाव दिए ।





