राजनीति

गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा इनफ भइसक्यो : महासचिव पोखरेल

४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अव त अति भएको बताएका छन् ।

महासचिव पोखरेलले संविधानले सभामुखको भूमिका तटस्थ र निस्पक्ष हुने मान्यता आत्मसात गरेको तर कोशी प्रदेशमा गठवन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गरेको बताएका छन् ।

गठवन्धनले सर्वोच्च अदालतको निर्णय पछि तात्कालिक काम चलाउ सरकारलाई मान्यता दिएर सम्विधानतः नयाँ सरकार गठनको प्रकृया अघि बढाउनु पर्ने बताएका छन् ।

तर त्यसो नगरी सत्ता गठवन्धनले कोशी प्रदेशमा सरकार विहिनताको अवस्था सिर्जना गरेको उनले बताएका छन् । जबकी नेपालको संविधानले कुनै पनि तहमा सरकार विहिनताको कल्पना नै नगरेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो- अव त अति भयो । संविधानले सभामुखको भूमिका तटस्थ र निस्पक्ष हुने मान्यता आत्मसात गरेको छ । तर कोशी प्रदेशमा गठवन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गर्यो । अदालतले सरकार गठनमा सभामुखको भूमिकालाई असम्वैधानिक करार गरेपछि सभामुखलाई नै राजिनामा गराएर सभामुख विहिनताको स्थितिमा सरकार गठनको दावी प्रस्तुत गरियो । जवकी सरकार गठनकाे प्रकृया अघि बढाउनुपूर्व प्रदेशसभाको नेतृत्व चयनको प्रकृया अघि बढाउनु पर्दथ्यो ।गठवन्धनले सर्वोच्च अदालतको निर्णय पछि तात्कालिक काम चलाउ सरकारलाई मान्यता दिएर सम्विधानतः नयाँ सरकार गठनको प्रकृया अघि बढाउनु पर्दथ्यो । तर त्यसो नगरी सत्ता गठवन्धनले कोशी प्रदेशमा सरकार विहिनताको अवस्था सिर्जना गर्यो। जबकी नेपालको संविधानले कुनै पनि तहमा सरकार विहिनताको कल्पना नै गरेको छैन । विश्वासको मत लिने सन्दर्भमा समेत सत्ता गठवन्धनले सम्विधानको हुर्मत लिने काम गरेको छ । सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आशन परिवर्तन गर्ने र मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गरेका छन् । जवकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ । यसरी पटक पटक सम्विधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दावीगर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो। त्यसैले सबैले एकस्वरमा भनौ-‘इनफ इज इनफ’।”