राजनीति

जनजीविकाका समस्याबारे सांसदको चासो

६ भदौ, काठमाडौँ । करिब एक महिनापछि नागरिकका समस्या र जनजीविकाका मुद्दा संसद्मा उठेका छन् । दलहरुबीच सुन तस्करी प्रकरणका विषयमा जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै आज प्रतिनिधिसभाको विशेष समय नागरिकका मुद्दाले प्रवेश पाएका हुन् ।

दलीय आधारमा आफ्ना धारणा राख्नेक्रममा सांसदले वर्षायाममा देखिएका बाढी पहिरोलगायत प्राकृतिक विपद्, डेङ्गी तथा पशु चौपायामा देखिएको लम्पी स्किन सङ्क्रमण नियन्त्रण, विकास निर्माणका काममा भएको ढिलासुस्ती, भ्रष्टाचार नियन्त्रणलगायत विषय संसद्मा आएका हुन् ।

सांसद हितराज पाण्डेले सुन तस्करी सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको आयोगले यसअघिका सुन तस्करीसँग सम्बन्धित विषयमा पनि गम्भीर खोजबिन गर्ने विश्वास व्यक्त ह्स्त्र । त्यस्तै, सदन चलाउन सरकारले गरेको पहलपछि अहिले गतिरोध अन्त्य भएको र नागरिकसँग जोडिएका विषय संसद्मा आउन सकेको न्स्य्स्स्र ।

अर्थतन्त्रका तीन खम्बा मानिने सरकारी, निजी र सहकारी क्षेत्र अहिले गम्भीर चुनौतीको सामना गरिरहेको सांसद तेजुलाल चौधरीले बताए । अर्थतन्त्रका समस्या समाधानका लागि सरकारले गम्भीर पहल गर्न नसकेको उनको भनाइ छ । नेपालको श्रमशक्ति र राम्रा विद्यार्थी विदेशिने क्रम रोक्न सरकारका योजनाबारे उनले संसद्मा प्रश्न उठाए ।

सांसद महेशकुमार बर्तौलाले देशभरका पशु चौपायामा देखिएको लम्पी स्किन सङ्क्रमण नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना गरे । लम्पी स्किन रोगबाट पशु चौपाया मरेर अर्थतन्त्रमा रु डेढ खर्बभन्दा बढीको क्षति भइसक्दा पनि पनि सरकार, सम्बन्धित मन्त्रालय र विभाग गम्भीर हुन नसकेको बताए ।

सांसद प्रदीप पौडेलले देशभर बाढी पहिरो र वर्षाका कारण धनजनमा क्षति भएकोमा उचित राहत उपलब्ध गराउन माग राखे । कार्यसूचीमा प्रवेश नगरेर संसद् बैठक स्थगित भएमा त्यस्तो बैठकको भत्ता सांसदले नपाउने व्यवस्था कानुनीरुपमै गरिनुपर्ने पनि पौडेलको भनाइ थियो । भष्ट्राचारका काण्ड छनोट गरेर अनुसन्धान अघि बढाउने नभई सबै प्रकारका काण्डको छानबिन गरिनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, सांसद रामनाथ अधिकारीले पनि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायत प्राकृतिक विपद् व्यवस्थापनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए । डेङ्गु र लप्पी स्किन सङ्क्रमण नियन्त्रणका लागि पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

लामो समयसम्म संसद् अवरुद्ध हुँदा नागरिक र जनजीविकाका समस्या संसद्मा आउन नपाएको धारणा सांसद कान्तिका सेजुवालले राखे । त्यस्तै, भारतको उत्तराखण्डस्थित केदारनाथ मार्गको पहिरोमा परेका १६ जना नेपाली नागरिकमध्ये १३ जना अझै बेपत्ता रहेकोमा उनीहरुको खोजी कार्यका लागि सरकारबाट पहल हुनुपर्ने बताए । भक्तपुरको कैदी सुधारगृहमा भएको घटनाको विषय पनि उनले संसद्मा उठाए ।

सांसद ऐनबहादुर शाही ठकुरीले हिमाली तथा दुर्गम जिल्लामा खाद्यान्न अभाव भएको विषय संसद्मा उठाए ।