साहित्य

अमेजनका कमिलासँग …

– प्रदीप ढकाल -कविता

प्रिय,
तिमी सोचिरहँदा
तिमीलाई खोजिरहँदा
धर्ती चहारिरहँदा
अमेजन जंगलमा कमिलासँग जम्काभेट भयो नि …
घना जंगलको रुखको डालीमा डुलिरहेको
आफ्ना चञ्चल नयन
यता र उता फर्काएर हेरिरहेको कमिला …
मैले सोचेँ –
मलाई नै हेरिरहेछ
नजिकै गएँ
सुसेलीले बोलाएँ
पातमा रमाएको कमिला
चुपचाप आएर मेरो निधारमा बसिदियो
आनन्दित हुँदै चल्मलायो
मलाई काउकुती लगायो
केहीबेर रमाएपछि निधारमै डसिदियो …
एकैछिनमा खुट्टा लरबराउन थाले
ओठ बर्बराउन थाले
आँखा तिरमिराउन थाले
सोच्ने शक्ति हराउँदै गयो
म धरमराएर लडेँ …
प्रिय,
त्यही कमिलाको डसाईमा
जीवन सत्यको बोध हुने रैछ नि …
२४ घन्टा शरीर हल्लिरहने
२४ घन्टे पक्षाघातमा सुतिने
शरीर मात्रै जीवित रहने
श्वासप्रश्वास मात्रै चलिरहने रैछ
तर जीवन त कस्तो अनौठो हुने रहेछ –
मृत्युको स्वरुप पनि होइन
जीवन त हुँदै होइन
२४ घन्टे त्यो जीवन
त्यही कमिलाको नाममा बित्ने रहेछ …
त्यही कमिलाको डसाईमा
मानिसले जीवनको
सबैभन्दा बढी पीडा पाउने रहेछ
त्यही २४ घन्टाको पीडा सहनमा
जीवनको सत्य बोध हुने रहेछ …
दुनियाका दबाईले काम नगर्ने
त्यो कमिलाको डसाई
सबैको भाग्यमा कहाँ हुन्थ्यो र ?
त्यो डसाईपछिको जीवनको सत्यबोध
सबैको जीवनमा कहाँ हुन्थ्यो र ?
तिनै प्रेम खोज्ने प्रेमीहरुको भाग्यमा
त्यो कमिला हुने रैछ ….
प्रिय,
जंगलको कमिला पनि
प्रेमकै प्रतिनिधि रहेछ
जीवन सिकाउने
मृत्युसँग परिचित गराउने
प्रेमको साँचो स्वरुप देखाउने
फरक यति मात्रै कि
कमिलाको प्रेमको असर २४ घन्टा
तिम्रो प्रेमको असर जीवनभर…
अनि, त्यही प्रेमको असरमा
हरेक प्रेमीले चहारिरहेछन्
अमेजनका जंगलहरु
पहाड र पर्वत अनि
नदी र खोल्साहरु…