२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन्।
आज पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले सुशासनका लागि नै भदौ २३ र २४ गते युवाहरूले आन्दोलन गरेको भन्दै सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए।
वर्तमान सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिको छानबिन गर्न आयोग
बनाएकाले आफू र कांग्रेसका सबै सदस्यको विवरण बुझाउने उनले बताए।
उनले न्यायालयमा काम गरेका केही पूर्वन्यायमूर्ति र केही राजनीतिक दलका नेताहरूले विवरणहरू नबुझाउने भनेकामा यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको बताए।
उनले सम्पत्तिको छानबिन गर्न आयोगले अब सम्पत्ति छानबिनको प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। सभापति थापाले सरकारले गठन गरेको आयोगले गर्ने कामहरूको स्वच्छता र पारदर्शितामाथि भने प्रश्न उठ्न नहुने तर्क गरे।





