स्वास्थ्य

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

२९ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा. मीता सिंह, डा. कोकिला वैद्य र डा. प्रमिला प्रधान सो सम्मान अर्पण गरिएको हो ।

यसैगरी राष्ट्रपति पौडेलले डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । सम्मानित चिकित्सकलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षाजस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताए ।

उनले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्की र सम्मान छनोट समितिका संयोजक एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव किरण रेग्मीले पनि सङ्घले गर्दै आएका कार्यबारे प्रकाश पारेका थिए ।