स्वास्थ्य

समयमा उपचार गरे बाल क्यान्सर निको हुन्छ : डा. शर्मा

११ असोज, चितवन । बालबालिकामा हुने क्यान्सर समयमा उपचार गरे निको हुने चिकित्सकको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा भित्रिएका प्रविधि र औषधिका कारण बाल क्यान्सरको उपचार सम्भव भएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका युवा तथा बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले बाल क्यान्सर जति खर्च गरे पनि उपचार निको हुँदैन, रोग निको भयो भने पनि रोग बल्झन्छ भन्ने भ्रम जनमानसमा रहेको बताए । उनले भने, “यो सत्य होइन । अहिलेको अवस्थामा बालबालिकाको क्यान्सर निको हुने दर राम्रो छ । उपचार गर्न सक्छौँ ।”

ठूला मानिसको तुलनामा दुई कारणले बालबालिकाको क्यान्सर छिटो निको हुने उनले बताए । उनको भनाइमा बालबालिकालाई हाइडोजको औषधि दिन सकिन्छ । यसैगरी केमो थेरापी दिँदा ठूलाको भन्दा बच्चाले धेरै सहन सक्ने भएकाले तत्काल काम गर्छ । बालबालिकाको धेरैजसो क्यान्सरलाई नेपालमै रोग पत्ता लगाउन सकिने भन्दै उनले भने, “अहिले नेपालमा उपचार गर्दाखेरि बाल क्यान्सर निको हुने दर करिब ६० प्रतिशतभन्दा बढी देखिन्छ ।” विश्वका विकसित देशहरूमा जस्तै अमेरिका जापानलगायत समग्रमा कतिपय क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने दर रहेको भन्दै उहाँले सम्रगमा हेर्दा ८० प्रतिशत भन्दा बढी बालबालिकाको क्यान्सर निको बताए ।

दुई दशक पहिले नेपालमा बाल क्यान्सरको उपचार सम्भव नरहेको भन्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सर विभाग सुरुआत भएसँगै यो सम्भव भएको बताए । उनले भने, “अहिले करिब दुई दशक पछाडिको समयमा आइपुग्दा धेरै बालबालिकाको नेपालमै क्यान्सरको उपचार भएर राम्रो नतिजा आउन सक्छ भन्ने सन्देश जनमानसमा पुगिसकेको छ ।”

नेपालमा प्रत्येक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर रोग लाग्ने भन्दै उनले त्यसमध्ये विभिन्न अस्पतालमा आउने बालबालिकाको अनुपात करिब आठ सय रहेको जानकारी दिए । उनले भने, “अहिले पनि आधाभन्दा बढी बालबालिका अस्पतालको पहुँचमा आइनसकेको हाम्रो अनुमान छ ।”

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा तीन सय ५० भन्दा बढी बालबालिका प्रत्येक वर्ष क्यान्सरको उपचारका लागि आउने गर्दछन् । यसले गर्दा सरदरमा हरेक दिन एक वा दुई जना बाल क्यान्सरका नयाँ बिरामी आउने उनले जानकारी दिए । विशेष गरेर बालबालिकाको रक्त क्यान्सरको उपचार तीन वर्षसम्म लाग्ने भएकाले अहिलेको समयमा पाँच सयभन्दा बढी बालबालिका यसै अस्पतालमा उपचाररत रहेको उनको भनाइ छ ।