अन्तर्राष्ट्रिय

प्यालेस्टिनीहरूले गाजा छाड्न थाले– इजराइली सेना

२७ असोज, एजेन्सी । इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।

“हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले सुनिरहेको देखेका छौँ, उनीहरूले चलाखीपूर्वक काम गरिरहेका छन्, खतरनाक क्षेत्रबाट बाहिर निस्किरहेका छन् र उनीहरूको परिवारका लागि यो सही हो भन्ने बुझेका छन्”, उनले भने।

शुक्रबार इजराइली सेनाले गाजा सहरबाट बाहिर निस्कन सर्वसाधारणलाई आह्वान गरेको थियो । आईडीएफले युद्धमा सर्वसाधारण प्रभावित नहोउन् भन्ने चाहना व्यक्त गरेको थियो । आईडीएफले हमास र उसका सैन्य पूर्वाधारहरूमा हमला गर्न गइरहेको बताएको थियो ।

“हामीले हाम्रो मनसायलाई पहिले नै बतायौँ किनकी यसमा कुनै सैन्य तर्क थिएन तर यद्धबाट सर्वसाधारण प्रभावित हुनु नपरोस् भन्ने हामी चाहन्छौँ”, उनले भने, “हामीले युद्धमा सर्वसाधारणलाई त्यहाँ समावेश गरेका छैनौँ र तिनीहरू हाम्रा शत्रु होइनन्, हामी कुनै पनि सर्वसाधारणलाई मार्ने वा घाइते बनाउने प्रयास गरिरहेका छैनौँ, हामी हमास र उसका सैन्य पूर्वाधारहरूसँग लडिरहेका छौँ, जहाँ हामीले गाजा पट्टी र गाजा पट्टीका उत्तरी भागलाई लक्षित गरेका थियौँ ।”

लेफ्टिनेन्ट कर्णेल कनरिकसले उत्तरी गाजाबाट प्यालेस्टिनीहरूलाई बाहिर जानबाट रोक्न हमासले प्रयास गरिरहेको बताए। “अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्देश र चेकपोइन्टका माध्यमबाट हमासले प्यालेस्टिनी नागरिकहरूलाई उक्त क्षेत्र खाली गर्नबाट रोक्ने प्रयास गरिरहेको छ, मलाई लाग्छ यो शङ्कास्पद छ ।”

उनले आफ्नै सुरक्षाका लागि प्यालेस्टिनीहरूले चाँडोभन्दा चाँडो उक्त क्षेत्र खाली गर्ने आशा व्यक्त गरे।