समाचार

के सदस्यता नवीकरण नगर्ने नेता पार्टीबाट बाहिरिन्छन् ?

९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा महामन्त्री गगन थापा ले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले वैधानिक रूपमा सदस्यका रूपमा नचिन्ने स्पष्ट पारेका छन्।

झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस अब पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित भएर अघि बढ्ने बताएका छन्। सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सम्मान र माया गरे पनि औपचारिक रूपमा सदस्य नमानिने उनको भनाइ थियो।

थापाले केही नेताहरूले सदस्यता नवीकरण नगरेको सन्दर्भ उठाउँदै अब पार्टीभित्र सबै प्रक्रिया प्रणालीबाट मात्रै चल्ने बताए। “कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले माया गर्छ तर सदस्यका रूपमा चिन्दैन,” उनले भने।

उनले पार्टीभित्र नयाँ र सक्षम पुस्ताको उदय भइरहेको उल्लेख गर्दै पुरानो शैलीमा कुर्सी मात्र ओगटेर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने टिप्पणी गरे। कांग्रेस चलाउन सक्ने युवा नेताहरू तयार भइसकेकाले अब उनीहरूले जिम्मेवारी लिनुपर्ने उनको विश्वास थियो।