समाचार

जाजरकोटको थाप्लेबाट अस्थायी टहरा निर्माण सुरु


जाजकोट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीकोतर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको सुरुवात गरेका छन् । भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीको अस्थायी संरचनाको कामबाट अभियानको सुरुवात गरिएको हो ।

भूकम्प पीडितका कम्तीमा एक सय घर निर्माण गरेर हस्तान्तरण गरिने अध्यक्ष नेपालले जानकारी दिए। उनले यो विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा  जोड दिए।

अध्यक्ष नेपालले जाजरकोटका पाँच सय भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको काम भइरहेको जानकारी दिए । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोटमा चिसोका कारण सर्वसाधारणको ज्यान गइरहेको समाचार आएको भन्दै उनले सरकारका संयन्त्र धेरै प्रक्रियागत कुराको पछि नलागी युद्धस्तरमा काम गर्नुपर्ने बताए ।  समाजवादी पार्टी हरेक नेता तथा कार्यक्रता समाजिक सेवामा लाग्नुपर्ने उनको भनाई छ।

राहत वितरण र अस्थायी संरचना निर्माण सँगसँगै

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पपीडितका लागि अस्थायी संरचना निर्माण र राहत वितरणलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । उनले समस्यामा परेका, आर्थिक अवस्था कमजोर भएका तथा विपन्न र सुत्केरीलाई लक्षित गरेर अस्थायी संरचना निर्माण गर्न आग्रह गरे। 

प्रक्रियाका नाममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको भन्दै युद्धस्तरमा काम गर्न मन्त्री ज्वालाले सम्बद्ध सबैलाई आग्रह गरेका छन् । उनले भूकम्पपीडितको साथमा सरकार भएको भन्दै जनताको जीवन सहज हुनेग गरी काम गर्न निर्देशनसमेत दिए। 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मन्त्री ज्वालाले बोलेर भन्दा काममार्फत नतिजा देखिनुपर्नेमा जोड दिए। दैनिक चिसोका कारण मानिसको मृत्यु भइरहेको खबर आइरहेको भन्दै उनले स्थानीय तह तथा सबै सम्बद्ध निकायलाई नजितामुखी काम गर्न आग्रह गरे।