अन्तर्राष्ट्रिय

रुसी सेनामा नेपाली भर्ना नगर्न र भर्ना भएकालाई फर्काउन नेपालको आग्रह

काठमाडौँ। रुसी सेनामा कार्यरत रहँदा हालै छ जना नेपाली नागरिकहरूको निधन भएको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।मङ्सिर १८ मा सरकारले एक विज्ञप्तिमार्फत् मृत्यु हुने ती नेपालीहरूको नाम सार्वजनिक गरेको छ।सरकारले मृतकहरूको नाम सन्दीप थपलिया (गोरखा), रूपक कार्की (कपिलवस्तु), देवान राई (कास्की), पितम कार्की (स्याङ्जा), राजकुमार रोका (दोलखा) र गङ्गाराज मोक्तान (इलाम) भएको जनाएको छ।

नेपाली नागरिकहरू परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा तीबाहेक अन्य देशका सेनामा भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको मन्त्रालयले दोहोर्‍याएको छ।त्यसैले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न समेत मस्कोसँग माग गरिएको छ।

मन्त्रालयको विज्ञप्तिमा कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत अनुरोध गरेको जनाइएको छ।


नेपाली नागरिक कुनकुन देशको सेनामा भर्ना हुन पाउँछन् ?

नेपालका नागरिकलाई विदेशी सेनामा भर्ती गराउने गरी ७२ वर्षअघि एउटा त्रिपक्षीय सन्धि भएको थियो। उक्त सन्धिमा स्पष्ट रूपमा नेपाली नागरिकलाई भारत र ब्रिटेनको सेनामा भर्ती गरिने उल्लेख गरिएको छ।त्यस्तै ती दुई सैन्य बलमा भर्ती भएका नेपालीहरूलाई भाडाको सैनिकका रूपमा व्यवहार नगरिने उल्लेख छ।

सन्धिमा नेपालका तात्कालिक प्रधानमन्त्री तथा सुप्रिम कमान्डर इन चीफ पद्मशमशेर जबराले भारत र ब्रिटेनमा गोर्खा भर्तीलाई कायम राख्न दिने आधारका रूपमा उनीहरूलाई भाडाका सैनिकका रूपमा नहेरिने हो भनेू भन्ने सर्त राखेको उल्लेख छ।सन् १९४७ को मे १ मा काठमाण्डूमा भएको त्रिपक्षीय बैठकमा पद्मशमशेरले राखेका सर्तलाई सन्धिमा लिपिबद्ध गरिएको हो।

अन्य देशको सेनामा नेपाली भर्ती गर्नेगरी कुनै प्रावधान नभएको अधिकारीहरू बताउँछन्। त्यसैले हाल रुसी सैन्य बलमा नेपाली युवा भर्ती हुन जानु सुरक्षा जोखिमसँगै कानुनविपरीत रहेको विज्ञहरूले औँल्याएका छन्।यद्यपि हिजोआज रुसबाहेक फ्रान्स, अमेरिका र युक्रेनको सैन्य बलमा समेत नेपालीहरूको भर्ती भएको पाइन्छ।त्यसलाई पुष्टि गर्ने खालका सामग्रीहरू टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमा देखा परेका छन्।बिबिसी