काठमाडौँ । प्राइम कमर्सियल बैंक कर्मचारी संघको अध्यक्षमा प्रशान्त बल्लभ पन्त निर्वाचित भएका छन् । संघको शनिबार काठमाडौमा भएको पहिलो अधिवेशनले पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले कर्मचारी संघको तदर्थ समितिका अध्यक्ष समेत रहेका पन्तलाई निर्विरोध रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरि संघको अन्य पदाधिकारी तथा सदस्यहरु पनि निर्विरोध चयन भएका छन् ।
यसरी चयन हुने पदाधिकारीहरुमा उपाध्यक्षमा धनबहादुर गोले, सचिवमा दिपेश घिमिरे, कोषाध्यक्षमा बद्री बोहोरा रहेका छन् । त्यस्तै सदस्यहरुमा शुशिला नापित, बुद्धि पोखरेल, राजेश मानन्धर, दामोदर ढुंगाना र मिलन विक्रम बस्नेत रहेका छन् ।
सो अधिवेशन कार्यक्रममा संघलाई सफलताको शुभकामना दिंदै प्राइम कमर्सियल बैंक लि.का अध्यक्ष एवं सभासद उमेश श्रेष्ठले बैंक तथा वित्तिय संस्था अत्यन्तै प्रतिस्पर्धी र सेवा मुलक क्षेत्र भएकाले बैंकलाई अगाडी बढाउनका लागि व्यवस्थापन र कर्मचारी बिचको सम्बन्ध सुमधुर हुनु जरुरी रहेको बताए ।
उनले कर्मचारी संघको नेतृत्व लिने व्यक्ति सकारात्क सोच र संस्थागत विकासलाई केन्द्रमा राखेर काम गर्न सक्ने क्षमतावान व्यत्तिगत स्वार्थ नभएको व्यक्ति हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा बैंकका सञ्चालक उदय मोहन श्रेष्ठ, नेपाल राष्ट्र बैंक , एफआईईयूएन राष्ट्रिय समितीका अध्यक्ष एवं विभिन्न संघसंस्थाका सदस्यहरु लगायत प्राइम बैंकका महाप्रबन्धक संजीव मानन्धरले संघको सफलताको शुभ कामना व्यक्त गरेका थिए । सो कार्यक्रममा विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारी संघका प्रतिनिधिहरुले आ–आफ्ना धारणा राखेका थिए ।