विशेष

आमा बुबालाई किन ढोग्ने ? यस्तो छ रोचक तथ्य


तपाँई हाम्रो समाजमा आफूभन्दा ठूलालाई आदर सम्मान तथा ढोग्ने संस्कार सदियौँ देखि नैँ चल्दै आइरहेको छ । नेपाली समाजमा बिहानै आमा बुबाको खुट्टा ढोग्नु निकै शुभ मानिएको छ । हामीले मान्दै आएको परम्पराअनुसार कतिपय ठाउँमा छोराले आमाबुबा (माता पिता) र बुहारीले सासूलाई बिहान सबेरै उठेर उनीहरूको गोडा ढोग्ने गर्छन्। यो परम्पराले आफूभन्दा ठूला र मान्यवरलाई सम्मान गर्नुपर्छ भन्ने उजागर गराउँछ ।

धेरैजसो मानिसहरु कतै जानु पर्दा या केही शुभ कामको सुरु गर्दा बाबु आमाको खुट्टा ढोगेर आशीर्वाद लिने गर्छन् । कतिपयले बिहानै आफ्ना माता पिताको आशीर्वाद लिएर मात्र दिनको सुरुवात गर्ने गर्दछन् । भनिन्छ नी बिहानीले दिनको सङ्केत गर्छ । हामीले बिहानीको कर्म जुन ढंगबाट सुरु गर्छौँ, त्यही अनुसार नै हाम्रो दिन बित्छ । त्यसकारण दिनको सुरुवात सही ढङ्गबाट गरियो भने त्यो दिनभरका लागि उत्साह, उमङ्ग र ऊर्जा छाउनुका साथै मनमा शान्ति छाउनुका साथै परिवारमा सुख शान्ति समृद्धि छाउँछ ।

वास्तु शास्त्रले माता पिता साथमा नहुँदा फोटो राखेर स्मरण गर्दा वा बिहानै माता पिताको खुट्टा ढोग्नुलाई निकै राम्रो मानेको छ । किनकि मातापिता भनेको भगवानका प्रतिक हुन् । श्रद्धापूर्वक मातापिताको गोडा छुनु आफूभन्दा ठूलाको अगाडि नतमस्तक हुनु हो । यसबाट हामीलाई विनम्रता प्राप्त हुन्छ । शास्त्रमा भनिएको छ कि हामीले दिनदिनै ठूलालाई अभिवादन गर्दै ढोग्दा हाम्रो आयु, विद्या, यश र शक्ति वृद्धि हुन्छ ।

यो एक किसिमको सूक्ष्म व्यायाम पनि हो । खुट्टामा छुँदा शारीरिक कसरत पनि हन्छ । निहुरिएर खुट्टामा छुँदा शरीर लचकदार हुन्छ । अगाडि निहुरिँदा शरीरमा रक्तप्रवाह बढ्छ । जसले गर्दा स्वास्थ्यमा निकै फाइदा पर्‍याउँछ । यसले घरमा सकारात्मक माहौल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास र मान्यजनप्रति आधार सम्मान समेत जगाउँछ । जसले गर्दा आफ्ना बुबा आमाप्रतिको प्रेम, आदर, सम्मान झलिकनुका साथै मनमा शान्ति, खुसी र सकारात्मक भाव उत्पन्न हुन्छ । यसले आफ्ना जुनियरलाई पनि राम्रो संस्कार सिक्छ उजागर गराउँछ ।