२९ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी वापतको रकम जिल्ला अदालत काठमाडौंमा बुझाएका छन् ।
बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि शरणार्थी प्रकरणका आरोपी खाँण शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका थिए।
तीस लाख रुपैयाँ धरौटी बापतको रकम बैंक ग्यारेन्टी राखेर छुट्न लागेका हुन् । तर, धरौटी रकम बुझाए पनि उनी तत्कालै छुट्ने भने छैनन् ।
उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइने छ ।
गएको जेठ १० मा नक्कली भुटानी शरणार्थी प्रकरणमा २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।





