विशेष

उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान

२९ मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरेका हुन् ।

यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मीरा चौधरी, पूर्वकप्तान फुटबलर बालगोपाल महर्जन, नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का, कराते खेलाडी एरिका गुरुङ, महिला बास्केटको क्याप्टेन सविना श्रेष्ठ र कराते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई उनले पुरस्कृत गरे ।

पुरस्कृत व्यक्तित्वलाई जनही रु एक लाख ५० हजार प्रदान गरिएको थियो ।
महानगरप्रमुख बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या र फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न बाँकी रहेको बताए । उनले महानगरका ३२ वटै वडाका सांस्कृतिक झाँकी र नृत्य देखाउन पाइएकामा खुसीे व्यक्त गरे ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितका लागि मात्रै हुनुपर्छ भन्ने अवधारणाका साथ महानगरपालिका अघि बढेको बताए । महानगरमा न्यायिक सुशासन कायम गर्न हरेक सेवाग्रहीलाई सहज, सरल पहँुचका लागि निःशुल्क कानुनी सेवा सुरुआत गरिएको उहाँले जानकारी दिए ।