आर्थिक

कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ : महामन्त्री शर्मा

३० मङ्सिर,गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् ।

कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए ।

“आगामी फागुनमा हुने महाधिवेशन बैठकले पार्टीलाई दिशानिर्देश गर्छ, त्यसपछिको महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउँछ”, महामन्त्री शर्माले भने, “पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस देशलाई चाहिएको छ ।” 

कमजोरी सुधारेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले देश र जनताको हितमा काम गर्नुपर्ने उनले बताए । महामन्त्री शर्माले देशलाई अब विकासमात्र नभएर गुणस्तरीय विकास चाहिएको बताए ।