शिक्षा

कीर्तिपुरमा पनि उच्च प्रविधियुक्त पुस्तकालय

२० पुस, कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय देशकै पहिलो आरएफआइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम) सुविधासहितको पुस्तकालय बनेको छ ।

परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले आज त्रिवि परिसरमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । आरएफआइडी प्रणालीले पुस्तकको वितरण र पुनःप्राप्तिसम्बन्धी अभिलेख स्वचालितरुपमा राख्नेछ ।

कार्यक्रममा मन्त्रीद्वयले नवनिर्मित पुस्तकालय भवनसँगै भारत सरकारको भूकम्प पुनःनिर्माण सहायता अन्तर्गत देशका विभिन्न भागमा सम्पन्न २५ विद्यालय, ३२ स्वास्थ्यसंस्था तथा एक गुम्बाका नवनिर्मित भवनको भर्चुअल उद्घाटन गरे ।

उद्घाटनपछि भारतीय विदेशमन्त्री जयशङ्करले त्रिवि पुस्तकालयको नयाँ भवनसँगै २०७२ सालको भूकम्प पश्चात् भारत सरकारको प्रतिबद्धता अनुरुपका ७५ वटै निर्माण परियोजना पूरा भएको बताए । यसका साथै भारत सरकारले हालैको जाजरकोट भूकम्पपछि आवास पुनःनिर्माणमा रु एक अर्ब बराबरको सहयोग गर्ने उनले बताए ।

नेपाल र भारतबीच ‘कनेक्टीभिटी’का विभिन्न आयामलाई अघि बढाउने प्रयास भइरहेको उनले बताए । यी सबैको उद्देश्य आमजनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउनु रहेको उनको भनाइ थियो । पुस्तकालयसहित ऊर्जा र अन्य क्षेत्रमा दुई देशबीच भएका सहमतिले आफ्नो नेपाल भ्रमणलाई अभूतपूर्वरुपमा सफल बनाएको धारणा थियो ।

परराष्ट्रमन्त्री साउदले त्रिवि केन्द्रीय पुस्तकालयले नवनिर्मित भवन पाउँदा दुई देशको सम्बन्धलेसमेत कोशेढुङ्गाको पार गरेको धारणा राखे । भारत सरकारले भूकम्पलगायतका अवस्थामा गरेको महत्वपूर्ण सहयोगले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गराएको उनले बताए । दुई देशबीचको आपसी सहयोग र सद्भावले आगामी दिनमा समेत थप उचाइ पाउने विश्वास मन्त्री साउदले व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखि नै भारतीय सहयोग पाउँदै आएको बताए । त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनले यसलाई डिजिटल स्रोतसहित देशमा ज्ञानको सर्वाधिक ठूलो अत्याधुनिक खोज केन्द्र बनाएको धारणा थियो ।

त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीनतले नवनिर्मित पुस्तकालयलाई एकैसाथ दुई हजार विद्यार्थी प्रयोग गर्न सक्नेछन् । यहाँ अपाङ्गमैत्री शौचालय तथा लिफ्टलगायतका सुविधा समेत छन् । ठाउँकोे हिसाबले यो पुस्तकालय नेपालकै फराकिलो पुस्तकालयमा पर्ने पुस्तकालय प्रमुख सुवेदीले जानकारी दिए । उनले पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी दिए ।

विसं २०७७ मा थालिएको पुस्तकालय निर्माण कार्य हालै सकिएको हो । यहाँ भारतीय पुस्तकको छुट्टै कोठासमेत रहेको छ । यसबाहेक पुस्तकालयमा ‘ई–रिसोर्सेज’मार्फत थप ज्ञान दिन ५० भन्दा बढी कम्प्युटर उपयोग गर्न दिइनेछ ।