अन्तर्राष्ट्रिय

डोनेट्स्क बजारमा युक्रेनी गोलाबारीमा कम्तिमा २७ जनाको मृत्यु

८ माघ, मस्को । युक्रेनी सेनाले आइतबार डोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १ सय ५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा भीडभाड भएको बजारमा सो घटना घटेको रुसको तास समाचार एजेन्सीले डोनेट्स्कका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगले सोमबार सुरक्षा परिषद्को बैठकमा यस घटनाबारे छलफल गरिने घोषणा गरेको छ । रसियाली विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघका कार्यक्रमहरूमा पनि यो मुद्दा उठाउने योजना बनाएको छ जहाँ रूसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित हुने कार्यक्रम छ ।