ब्रेकिङ न्युज

विष्णु पौडेल पक्राउपछि महेश बस्नेतको कटाक्ष: ‘कुखुरा मर्‍योभन्दा पनि स्याल पल्कियो’

८ असार, काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले कानुनी कारबाही तथ्य र प्रमाणका आधारमा निष्पक्ष रूपमा अघि बढ्नुपर्ने भन्दै राजनीतिक प्रतिशोधको भावना देखिन नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतामाथि प्रतिशोधको उद्देश्यले गिरफ्तारी गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने धारणा राखेका छन्। उनका अनुसार कुनै पनि कानुनी प्रक्रिया विधिको शासन, निष्पक्षता र कानुनी मापदण्डअनुसार सञ्चालन हुनुपर्छ।

बस्नेतले एमालेका नेता–कार्यकर्ता र समर्थकलाई यो घटनालाई केवल एक व्यक्तिसँग जोडेर नहेर्न आग्रह गरेका छन्। उनले यसलाई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने बताएका छन्।

उनले आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ” भन्दै यस्ता प्रवृत्तिविरुद्ध सचेत र एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रियाको अन्त्यमा बस्नेतले नेपाली उखान उद्धृत गर्दै “कुखुरा मर्‍योभन्दा पनि स्याल पल्कियो” भन्ने चेतका साथ घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।