अन्तर्राष्ट्रिय

दक्षिणपश्चिम चीनमा पहिरोमा परी ४३ को मृत्यु

११ माघ, बेइजिङ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी मर्नेको सङ्ख्या बिहीबारसम्म ४३ पुगेको र भग्नावशेषमा अझै एक जना बेपत्ता भएको सरकारी मिडियाले बताएको छ ।

युनान प्रान्तको झेन्सियोङ काउन्टीमा सोमबार बिहानैदेखि गएको पहिरोमा १८ घर पुरिएको र दुई सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा थप नौ शव प्राप्त भएको र यसले बुधबार मर्नेको सङ्ख्या ३४ लाई बढाएर ४३ पुर्याएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले बिहीबार साँझ बताएको छ ।

राष्ट्रपति सि जिनपिङले सोमबार ‘पूर्ण’ उद्धार प्रयास गर्न आदेश दिउका थिए । प्रकोपपछि दुई सय उद्धारकर्मीले पुरिएका गाउँलेहरूको खोजीमा चिसो मौसम र हिउँको तहको सामना गर्नुपरेको छ ।

सरकारी मिडियाले साझा गरेको तस्बिरहरूमा हेलमेट, फेस मास्क र चम्किलो सुन्तला रङको कपडा लगाएका उद्धारकर्मीहरूले जीवित मानिस खोज्नका लागि रातभर खनिरहेको देखाइएको छ । दर्जनौँ दमकल र खन्ने उपकरणहरू पनि त्यहाँ देख्न सकिन्छ । चीनको दुर्गम र ठूलो मात्रामा गरिब क्षेत्र युनानमा पहिरो जानु सामान्य हो । यहाँ रहेका हिमाली शृङ्खला विशाल हिमालय पठारसम्म पुग्छन् ।