१६ माघ, भेन्टियान । आसियानः अन्तर सञ्जाल र लचिलोपन बढाउँदै“ भन्ने नाराका साथ उत्तरी लाओसको लुआङ प्राबाङ प्रान्तमा आसियान (दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संघ) विदेश मन्त्रीहरूको रिट्रीट शुरु भएको छ ।
सोमबार लाओका उपप्रधान तथा विदेशमन्त्री सालेमक्से कोमासिथको अध्यक्षतामा भएको बैठकमा आसियान कम्युनिटी भिजन २०२५ को कार्यान्वयन र लाओसको आसियान अध्यक्षता २०२४ का प्राथमिकताहरूका साथै आसियानलाई थप सुदृढ गर्ने ठोस र दिगो उपायहरूबारे छलफल भएको बताइएको छ ।
क्षेत्रीय र विश्वव्यापी चुनौतीहरूका बीचमा एकता, केन्द्रीयता र लचिलोपनलाई सबल बनाउने चिषयमा छलफल भएको बुझिएको छ ।
सो भेटमा सहभागीहरूले साझा चासोका साथै क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गरेका थिए ।
बैठकले साझा रणनीतिक योजनाहरूको विकासमा समावेशी र समग्र दृष्टिकोणको महत्त्वलाई जोड दिएको र यस सम्बन्धमा आसियान समुदायका तीनवटा मुख्य मुद्दाहरूमा सम्बन्धित सरोकारवालाहरूसँग थप परामर्श गर्न तयारी छ ।
बैठकले एपीटी सहयोग कार्य योजना २०२३–२०२७ को कार्यान्वयन लगायत पूर्व एसियाली क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धि प्रवर्द्धन गर्न आसियानलाई चालक शक्तिका रूपमा आसियान प्लस थ्री (एपी) सहयोगलाई थप प्रवर्द्धन गर्न सहमत भएको सहभागीहरूले बताएका छन् ।
बैठकले सन् २०२३ मा इन्डोनेसियामा सम्पन्न ४३औँ आसियान शिखर सम्मेलन र अन्य सम्बन्धित बैठकको नतिजाको कार्यान्वयनको प्रगतिको समीक्षा पनि गरेको थियो ।