अन्तर्राष्ट्रिय

इटालीका किसानहरूद्वारा आन्दोलनलाई तीव्रता

१६ माघ, मेलेग्नानो । दर्जनौँ इटालेली किसानहरूले मङ्गलबार मिलान नजिकै ट्र्याक्टरहरूबाट विरोध प्रदर्शन गरेका छन् । यो किसानहरूको जीविकोपार्जनको डरले मुलुकभर साना प्रदर्शनहरूको शृङ्खलामा पछिल्लो प्रदर्शन हो ।

हालैका साताहरूमा सिसिलीबाट ट्रेन्टोसम्म अचनाक विरोध प्रदर्शन सुरु भएका छन् । सडकहरू अवरुद्ध गर्ने समाचार अहिले नियमित भएको छ । यद्यपि तिनीहरू अहिलेसम्म फ्रान्स, जर्मनी वा बेल्जियममा किसान प्रदर्शनको स्तरसम्म पुगेका छैनन् ।

“हामी युरोपले धोका दिएका सबै कुरा रोक्न तयार छौँ”, मिलान बाहिर मेलेग्नानो नजिकैको विरोध प्रदर्शनमा प्लेकार्डमा घोषणा गरिएको छ । प्रदर्शनकारीहरू युरोपेली सङ्घ (इयु) का नियमहरू, आफ्ना उत्पादनमा मुद्रास्फीति र करहरूको प्रभावलाई लिएर असन्तुष्ट छन् । उनीहरूले आफ्नो धरौटीलाई स्थगन गर्न माग गरेका छन् ।

“युरोपले हामीमाथि यस्तो नियम थोपर्छ जसको कुनै अर्थ छैन, हामी अब जीविकोपार्जन गर्न सक्तैनौँ, हामी धेरै पैसा कमाउन चाहन्छौँ र आफ्ना उत्पादनहरूको मूल्य तिनीहरूको मूल्यअनुसार चाहन्छौँ”, उत्तरी इटालीमा विरोध प्रदर्शनका आयोजकमध्येको एक लुइसिटो नाल्डीले भने, “हामी थाकेका छौँ ।” उनका अनुसार परिस्थिति यति कठिन भइसकेको छ कि किसानहरूले आत्महत्या गरिरहेका छन् ।

उनले प्रधानमन्त्री जियोर्जिया मेलोनीको सरकारसँग भेट्न खोजिरहेको बताए । “जे कारणले फ्रान्स, जर्मनी, पोल्यान्ड र रोमानियामा विरोध प्रदर्शन भइरहेको छ त्यही कारणले हामीले विरोध गरिरहेका छौँ”, उनले भने, “जबसम्म सरकारले हामीलाई रोममा आमन्त्रण गर्दैन तबसम्म विरोध प्रदर्शन जारी रहन्छ ।”