अन्तर्राष्ट्रिय

थाइल्याण्डको अदालतद्वारा एमजेएफविरूद्धको मानहानि मुद्दाबारे फैसला गर्दे

१७ माघ, बैङ्कक । थाइल्याण्डको चुनावमा सबैभन्दा बढी सिट जितेकोे प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले राज्यको कडा शाही मानहानि कानूनमा सुधार गर्ने आफ्नो चुनावी प्रतिबद्धताको वैधताको बारेमा बुधबार सर्वोच्च अदालतको फैसलाको सामना गर्दैछ ।

एमएफपीले गत मे महिनामा भएको आम निर्वाचनमा पहिलो स्थान ल्याएको थियो । थाई सेना, व्यापारिक एकाधिकार र ‘लेस–माजेस्टे’ कानूनमा सुधार गर्ने उसको वाचाले निर्वाचनमा दललाई पहिलो स्थानमा उभाउन सफल भएपछि थाइल्याण्डको शक्तिशाली परम्परावादी अभिजात वर्गमा डर पैदा गरेको थियो ।

यसै डरले नेता पिता लिम्जारोयनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो र एमएफपीलाई शासकीय गठबन्धनबाट बाहिर राखियो । निर्वाचनसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा सफाइ पाएपछि पिता गत साता संसद्मा फर्किनुभएको थियो । बुधबार संवैधानिक अदालतले राजा महाभाजिरालोङकोर्न र उनको नजिकको परिवारलाई अपमानबाट जोगाउने थाइल्यान्डको कडा कानूनमा सुधार गर्ने पार्टीको चुनावी प्रतिवद्धता सम्बन्धमा सुनुवाई गरी फैसला सुनाउने अपेक्षा गरिएको छ ।

एमएफपी नीतिले थाइल्याण्डको राजसंस्थालाई अपदस्थ गर्ने प्रयास गरेको भन्दै दायर गरिएको एक याचिकामा अदालतले थाइ समय अनुसार दिउँसो २ः०० बजे फैसला जारी गर्ने अपेक्षा गरिएको छ । अदालतले पार्टी विघटनको आदेश दिने अपेक्षा गरिएको छैन, तर यसले एमएफपीको लेसे–माजेस्टे सुधार नीतिलाई प्रतिबन्ध लगाउन सक्छ । अदालतको आदेशबाट विघटन गरिएको एमएफपीका अग्रगामी फ्युचर फरवार्ड पार्टीका पूर्व नेता थानाथोर्न जुआन्ग्रुङ रूआङकिटले लेसे–माजेस्टेलाई छलफलका लागि तयार पार्नुपर्ने बताए । “व्यवस्था ईश्वरले पठाउनुभएको फ्याक्स पेपर होइन । यो मानव हातले लेखिएको हो, त्यसैले मानिसहरूले यसलाई संशोधन गर्न सक्छन्,” थानाथोर्नले बुधबार पत्रकारहरूसँग भने ।

उनले भने, “सांसदले कानून संशोधन गर्न सक्दैनन् भने मलाई लाग्छ, देशमा केही न केही गडबडी छ ।” थाई समाजमा राजालाई अपमानबाट जोगाउने उद्देश्यले लेसे–माजेस्टे कानून बनाइएको छ, र यसलाई तोड्नविरूद्ध १५ वर्षको जेल सजाय हुन सक्छ । आलोचकहरूका अनुसार हालैका वर्षहरूमा शाही परिवारलाई कुनै पनि प्रकारको आलोचना वा उपहासबाट जोगाउनका लागि यो कानुनको व्यापक व्याख्या गरिएको छ । यसै महिनाको सुरुमा फेसबुकमा राजतन्त्रको अपमान गरेको भन्दै एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाइएको थियो ।

गत वर्षको मार्चमा एक व्यक्तिलाई रबरको हाँसको व्यङ्ग्यात्मक क्यालेन्डर बेचेको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको थियो ।