अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घींय महासचिवद्वारा गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्न आवाश्यक कदम चाल्न आह्वान

१८ माघ, संयुक्तराष्ट्र । संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

असहज परिस्थितिलाई समयमै नियन्त्रण गरी यस क्षेत्रलाई थप हिंसाबाट बचाउन तत्काल कदम चाल्न महासचिव गुटेरेसले आह्वान गर्नु भएको हो । संयुक्त राष्ट्रसङ्घका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अभ्याससम्बन्धि समितिको बैठकसमेतमा यो विषयको उठान गरेका थिए ।

महासचिवले गाजामा बढ्दो आवश्यकता सम्बोधन गर्न, पूर्वी जेरुसेलमसहित कब्जा गरिएको क्षेत्रको अवस्थामा पनि केन्द्रित रहेको बताए । यो श्रीङ्खलाबद्ध सबै हिंसा रोकी अपराधिलाई जवाफदेही बनाउनुपर्ने उहाँको भनाइ छ । महासचिवले प्यालेस्टाइनको लामो प्रश्न र बढ्दो हिंसाका बीचमा समितिको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे ।

गाजामा भएको घटनालाई साझा मानवता र अन्तस्करणमा दाग भन्दै महासचिवले विगत एक सय २० दिनमा मृत्यु, बिनाश, विस्थापन, भोकमरी, क्षति र दुःख भएकोमा शोक व्यक्त गरे । गाजामा मात्रै दुई तिहाइभन्दा बढी महिला तथा बालबालिकासहित २६ हजार सात सय ५० भन्दाबढी प्यालेस्टिनी मारिएको विषयमा जोड दिँदै उनले सर्वसाधारणको हत्या र अपाङ्गता भएका सैन्य आक्रमणमा असन्तुष्टि ब्यक्त गरे ।

गुटेरेसले नागरिक पूर्वाधारमा गम्भीर असर परेको औँल्याउदै गाजामा घर, अस्पताल, विद्यालय, पानी र सरसफाइ सुविधाहरूसहित ७० प्रतिशतभन्दा बढी संरचना नष्ट भएको बताए ।

अन्तर्राष्ट्रिय मानवीय कानुनको सिद्धान्तलाई पुनःपुष्टि गर्दै उनले द्वन्द्वको कुनै पनि पक्ष अन्तर्राष्ट्रिय कानुनभन्दा माथि नहुने कुरामा जोड दिए । महासचिवले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहतकार्य एजेन्सी (युएनआरडब्लुए)का कर्मचारी विरुद्धको गम्भीर आरोपहरूलाई सम्बोधन गर्दै आरोपबाट व्यक्तिगतरूपमा आफु डराएको बताए ।

उनले युएनआरडब्लुएको महत्वपूर्णकार्य बताउँदै चालिएका कदमहरूको रूपरेखा प्रस्तुत गर्नुभयो । गाजाको मानवीय प्रणाली पतनको सङ्घारमा पुगेको बताउँदै २.२ मिलियन मानिसले सामाना गरिरहेको अमानवीय अवस्थामा महासचिवले द्रुत, सुरक्षित, निर्बाध, विस्तारित र दिगो मानवीय पहुँचको लागि आह्वान गरे ।

उनले तत्काल मानवीय युद्धविरामका लागि निवेदनको साथसाथै भीड कम गर्न र निरन्तर मानवीय पहुँच सुनिश्चित गर्ने आवश्यकतामा जोड दिए ।

गुटेरेसले दुई–राज्य समाधानको दिशामा प्रगति गर्न आह्वान गर्नुभयो । दुई–राज्य समाधानले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको प्राप्ति भई सो क्षेत्रमा न्यायपूर्ण र स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न सक्ने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय समुदायलाई अर्थपूर्ण शान्ति प्रक्रियालाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतामा अडिग रहन पनि आग्रह गरेका छन् ।