अन्तर्राष्ट्रिय

अफगानिस्तानले १ सय बढी लागुऔषध प्रयोगशाला ध्वस्त पार्यो

२० माघ, काबुल । अफगानिस्तानको कामचलाउ सरकारले विगत दुई वर्षको अवधिमा गरेका २० हजारभन्दा बढी कारबाहीका क्रममा कम्तीमा १ हजार १ सय लागुऔषध प्रयोगशालाहरू नष्ट गरेको छ । काउन्टर नार्कोटिक्सका लागि आन्तरिक मामिलाका उपमन्त्री अब्दुल हकले जनाए अनुसार विगत दुई वर्षमा लगभग २० हजार ७ सय वटा लागुऔषध विरोधी अभियानहरू सञ्चालन गरिएको छ जसमा कम्तिमा १ हजार १ सय लागुऔषध कारखाना ध्वस्त पारिएको छ ।

त्यसैगरी १३ हजार ७ सय व्यक्तिलाई लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । अफगानिस्तानको सरकारले सन् २०२२ अप्रिलदेखि लागुपदार्धको खेती, प्रशोधन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

यसैबीच, अफगानिस्तानका कृषकहरूलाई वैकल्पिक बाली उब्जाउन सहयोग गर्न नसकेको भन्दै अफगानिस्तानका अधिकारीले विश्व समुदायको आलोचना गरेका छन् । अन्तरराष्ट्रिय समुदायले अफगानिस्तानलाई लागुऔषध विरुद्धको क्षेत्रमा मद्दत गर्न अझै व्यावहारिक कदम चाल्न नसकेको उनीहरूको धारणा छ ।

अफगानिस्तानमा ३० लाखभन्दा बढी लागुऔषध दुर्व्यसनीहरू छन् । कामचलाउ प्रशासनले तीमध्ये १ लाखभन्दा बढीलाई चिकित्सा उपचार उपलब्ध गराएको हमकरले बताउनु भएको छ । “हामीले आश्रय नभएका लागुऔषध दुर्व्यसनीहरूलाई सङ्कलन गरी उपचार गरेका छौँ ।

तिनीहरूमध्ये केहीले अहिले राम्रो जीवन बिताएका छन् र आफ्नै घरमा छन्,“ हमकरलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।