९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल लाई विशेष अदालतमा पेस गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेत प्रहरीले पौडेललाई पक्राउ गरेको थियो। उनलाई त्यसपछि काठमाडौं ल्याएर अदालतमा पेस गरिएको हो।
अदालतमा अहिले म्याद थप सम्बन्धी सुनुवाइ चलिरहेको छ। सरकारी वकिलहरूले अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने तर्क अघि सारेका छन् भने पौडेल पक्षका वकिलहरूले पक्राउ नै गलत भएको दाबी गर्दै बहस गरिरहेका छन्।
सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको विभाग स्रोतले जनाएको छ। पक्राउ अघि अनुसन्धान टोलीले उनको निवासमा समेत छापा मारेको थियो।
हाल उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने विषयमा अदालतको निर्णय प्रतिक्षा भइरहेको छ।





