३ वैशाख, काठमाडौँ । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का नखः (जात्रा)को चौथो दिन आज सिन्दूरजात्रासहित रथलाई परिक्रमा गरिएको छ । गत चैत मसान्तदेखि सुरु भएको जात्राको आज चौथो दिन आज बिहान ७ बजे तपलाक्षीःबाट देवतासहितको रथलाई सिन्दूरजात्रा गरी टोल परिक्रमा गरिएको र बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइएको छ ।
आजै दिउँसोे तलेजु गुथीबाट जीवित गणेश, कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । यस्तै, उक्त रथलाई मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी आजै साँझ कोनेलाक्षीःमा बिसाइएको छ । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।
बिस्का जात्राको चौथो दिन आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवम् पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, कांग्रेस नेता एवम् काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायत व्यक्तिहरु जात्रामा पुगेका थिए । टोखा नगरपालिकाले जात्राका अवसरमा आज टोखाको वडा नं २ र ३ मा र भोलि अर्थात् जात्राको अन्तिम दिन टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।