राजनीति

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन जुट्यो सहमति

५ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको छ । उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरु टुंगोमा पुगेका छैनन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तापक्ष र प्रतिपक्षबीचको आजको बैठक उपलब्धिमूलक र सकारात्मक रहेको बताएका छन् । संसदीय छानविन समिति बनाएर जानुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताए । ”भोलि विहानदेखि नै समितिको कार्या देश के हुने भन्ने विषयमा भोलि विहानदेखि काम हुन्छ” उनको भनाइ छ ।
उक्त संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । आज भएको सहमतिसँगै भोलिदेखि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।