राजनीति

ओलीले प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो: घनश्याम भुसाल

२७ जेठ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन् । ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर अभिव्यक्ति दिएपछि भुसालले यस्तो टिप्पणी गरेका हुन् ।

पार्टीले आज आयोजना गरेको “नेपालमा समाजवादी क्रान्ति विषयक” कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीको भूमिकाको आलोचना गरेका हुन् । उनले भने, ‘एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाए भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उहाँले पार्टी जोगाउन संसद, प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।’