७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीभित्र हुने गलत कामविरुद्ध पनि खुलेर आवाज उठाउन आग्रह गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको गलत कार्यको विरोध गर्न नसक्नेले सुशासन स्थापित गर्न नसक्ने बताए ।
“हामीले विगतमा आफ्नै नेताहरूलाई प्रश्न नगर्ने गल्ती गर्यौं। दाइ वा बा भनेर नेताहरूलाई प्रश्नभन्दा माथि राख्यौं। त्यसले सुशासनलाई कमजोर बनायो,” थापाले भने, “तपाईंहरू पनि पार्टीभित्र गलत हुँदा चुप लागेर नबस्नुस्। आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कार विकास गर्नुस्।”
उनले बाहिरका राजनीतिक प्रतिस्पर्धीसँग लड्नुभन्दा आफ्नै पार्टीभित्रका कमजोरी र विकृतिविरुद्ध संघर्ष गर्न झन् कठिन हुने उल्लेख गर्दै कांग्रेसले विगतमा त्यही कठिन बाटो रोजेको बताए। “हामीले पनि नसच्चिएपछि पार्टीभित्रै विद्रोह गरेका हौं। बाहिर लड्नुभन्दा पार्टीभित्र लड्न गाह्रो हुन्छ,” उनले भने।
सभापति थापाले रास्वपाले प्राप्त गरेको जनमत असाधारण भएको उल्लेख गर्दै त्यसलाई जोगाउन पार्टीभित्र लोकतान्त्रिक संस्कार, विधिको शासन र आत्मसमीक्षाको संस्कृति आवश्यक पर्ने बताए। विगतमा ठूलो जनमत प्राप्त गरेका राजनीतिक शक्तिहरू आन्तरिक विवाद र नेतृत्वमा देखिएको उन्मादका कारण कमजोर बनेको स्मरण गराउँदै उनले रास्वपाले त्यस्ता गल्ती दोहोर्याउन नहुने सुझाव दिए।
थापाले नेपाली कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुता नरहेको स्पष्ट पार्दै रास्वपा नेतृत्वको सरकारले राम्रो काम गरे कांग्रेसले समर्थन गर्ने र गलत बाटोमा गए खबरदारी गर्न पछि नपर्ने बताए।
उनले नयाँ पुस्तालाई इतिहास र लोकतान्त्रिक आन्दोलनका बलिदान नबिर्सन आग्रह गर्दै चितवनको भूमिमा लोकतन्त्रका लागि बगेको सहिदहरूको रगतकै कारण आज सबै राजनीतिक दलले स्वतन्त्र रूपमा आफ्ना झण्डा फहराउन पाएको उल्लेख गरे।
“निलो झण्डा फहराउँदा भुइँमा रातो इतिहास पनि छ भन्ने सम्झनुपर्छ,” उनले भने, “विगतका संघर्ष, बलिदान र योगदानलाई बिर्सेर अगाडि बढ्न सकिँदैन।”
सभापति थापाले लोकतन्त्र, विधिको शासन र सुशासनप्रति प्रतिबद्ध रहन आग्रह गर्दै जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेसले सधैँ प्रश्न उठाउने र खबरदारी गर्ने प्रतिबद्धता दोहोर्याए।





