२९ जेठ, काठमाडौँ । पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयले शिक्षकलाई अनावश्यक कडाइ गरेकोप्रति विरोध गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले शिक्षकको डिएनए परीक्षण गर्नुभन्दा पनि शिक्षकलाई खुसी बनाउने गरी काम गर्नुपर्ने बताएका हुन्।
‘शिक्षकको डिएनए परीक्षण गरेर हिँड्ने कुरा राम्रो भएन, शिक्षकलाई खुसी बनाउने, दरबन्दीको व्यवस्था गर्ने, शिक्षकलाई तालिम दिएर समक्ष बनाएर कक्षामा पुर्याउने हो भने मात्रै शिक्षा सुधार गर्न सकिन्छ, आंशिक र करार शिक्षकको विवादको टुंगो लगाउनेतिर शिक्षामन्त्रीले चासो दिनुपर्छ ’ उनले भने ।