९ भदौ, फुङलिङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट रु छ लाख ५२ हजार आठ सय सङ्कलन भएको थियो । शनिबारको खेलबाट मात्र तीन लाख ४४ हजार र शुक्रबारको खेलबाट रु तीन लाख आठ हजार आठ सय सङ्कलन भएको उनले जानकारी दिए।
यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा सात लाख १० हजार नौ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति रु दुई सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा रु एक सय राखिएको थियो । फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर दुई सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट रु २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताए । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।





