समाचार

सांसदहरूले मागे उपसभामुख रानाको राजीनामा

२५ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद पदम गिरीले संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र गरिने व्यवहार संसद्को गरिमासँग जोडिने बताए ।

“उपसभामुखले सम्मानित संसद्को मर्यादा र गरिमालाई कायम राख्नुभएन । संसद्मा विषय उठेको लामो समयसम्म पनि बेवास्ता गर्नुभएको छ”, उनले भने, “संसद्को गरिमालाई बचाउनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्न राम्रो हुन्छ । व्यक्तिप्रति कुनै आग्रह पूर्वाग्रह छैन । तर, संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र व्यवहार संसद्को गरिमासँग जोडिन्छ ।”

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन संसद्भन्दा बाहिरका व्यक्तिका नाममा दूतावासलाई सिफारिस पत्रलेखेर संसद्को गरिमामाथि आचर पु¥याएको दाबी गरे ।

सांसद गिरीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स ठूलो सङ्कटबाट गुज्रिको भन्दै यसलाई सुधार गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने खाँचो औँल्याए । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरिएका विमान सञ्चालन प्रभावकारी नहुँदा ऋणको ब्याज र किस्ता तिर्न कठिनाइ भइरहेको बताए ।

उनले भने, “निगमको वाइड बडी विमान विगत ८० दिनदेखि ‘सिचेक’का लागि इटालीमा रहेको र अर्को वाइड बडी विमान पनि इटालीमै रहेको भन्दै अन्तर्राष्ट्रिय उडान विस्तारको व्यावसायिक योजना नल्याउने जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन जरुरी छ ।”

एमाले सांसद सुहाङ नेम्वाङले कुनैपनि मतभिन्नतालाई सहमति र सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा आगाडि बढाइनुपर्ने खाँचो औंल्याए । नकारात्मकता र निराशाको भाष्य सिर्जना गरेर युवापुस्तालाई निरुत्साहित बनाउने काम भइरहेको भन्दै सरकार र प्रतिपक्षी दल मिलेर देश र जनताको आवश्यकता र चाहनालाई पूरा गर्न लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए । संवेदनशील विषयमा नियामक निकायका पदाधिकारीलाई जवाफदेही बनाउन नसकिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराए । उनले ‘सिचेक’का लागि इटाली रहेको नेपाल एयरलाइन्सको विमान चाँडो ल्याउन र उडानलाई प्रभावकारी बनाउन माग गरे ।

कांग्रेस सांसद प्रतीमा गौतमले काठमाडौँका विभिन्न स्थानका सडक भत्किएको, खाल्डो परेको र समयमै मर्मत हुन नसक्दा सर्वसाधरणलाई आवतजावतमा कठिनाई भइरहेको उल्लेख गर्दै सरोकारवालाको ध्यानाकर्षण गराए । देशका अन्य स्थानको सडक पनि मर्मत सम्भार गर्दै नजिकिएको चाडपर्वमा सुरक्षित र सहज यात्राको सुनिश्चित गर्न सरकार समक्ष माग गरे ।

नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले काठमाडौँ महानगरभित्र खोला किनारमा बस्ती निर्माणबारे हालैको सर्वोच्च अदालतको आदेशले खोला किनारका बासिन्दा प्रभावित हुने भन्दै फैसलाको पुनरावलोकन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले राजनीतिक दल र सरकारले जनताको तमाम सरोकारका विषयमा ध्यान दिन जरुरी भएको उल्लेख गरे । उपसभामुख रानाको राजीनामा माग गरी अन्य विषय ओझेलमा पार्न खोजिएको उनको तर्क थियो ।

कर्णाली राजमार्ग कायम गरियोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेतदेखि जुम्ला जोड्ने सडकको नाम मेटाउने काम भएको भन्दै यसलाई कर्णाली राजमार्गका रुपमा नामाकरण गर्न माग गरे ।

दुई सय १० मिलोमिटरको कर्णाली राजमार्गको निर्माणलाई तीव्रता दिन माग गरे । उक्त राजमार्ग उद्घाटन गरेको १४ वर्ष पछि २०६३ चैत्र ३० गते जुम्लामा सडक पुग्यो । यो अवस्थामा पुग्न पनि यो राजमार्गले निकै चुनौतिको सामना गर्नु परेको उनको भनाइ छ ।

सांसद कठायतका अनुसार सडक विभागको आधिकारिक दस्तावेजमा २०६९ साल मङ्सिर १९ गतेसम्म पनि कर्णाली राजमार्ग भनेर सुर्खेत जुम्ला सडकलाई जनाइएको छ । यसैका आधारमा अहिले पनि नेपालका ठूला मिडियाले समेत यो सडक खण्डमा केही घटना घट्दा कर्णाली राजमार्ग भनेर समाचार प्रकाशित गर्ने गरेका छन् । तर अहिले यो राजमार्ग बेनामे सडकका रुपमा अलपत्र रहेको उल्लेख गर्दै सांसद कठायतले उक्त सडकले बजेट पनि नपाएको गुनासो गरे । बारम्बार पहिरो गइरहने उक्त सडक खण्डको समयमा मर्मत सम्भार पनि हुननसकेको उनको भनाइ छ ।