अन्तर्राष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको निधन

२७ भदौ, नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ ।

उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ आइसियुमा स्थानान्तरण गरिएको थियो ।

सिपिआई एमका नेता हन्नान मोल्लाले भने, “सिपिआई एम का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।”

उनले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज थिए भने ।

बहत्तर वर्षीय येचुरीको आज दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ । परिवारले उनको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ ।

बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहेका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गरेका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ थिए । यसबाहेक उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गरेका थिए ।

यसैबीच भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।

आइडिया अफ इन्डियाका रक्षक– राहुल गान्धी

लोकसभामा विपक्षी नेता तथा कांग्रेस नेता राहुल गान्धीले बिहीबार येचुरीको निधनप्रति दुःख व्यक्त गरे ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा येचुरीसँगको तस्बिर सेयर गर्दै उनले भने, “सीताराम येचुरीजी साथी हुनुहुन्थ्यो, हाम्रो मुलुकलाई गहिरोसँग बुझ्ने भारतको विचारको संरक्षक ।”

“दुःखको यस घडीमा उहाँको परिवार, इष्टमित्र र अनुयायीहरूप्रति मेरो गहिरो समवेदना”, उनले पोस्ट गरेका छन् ।