प्रदेश 1

कोशी प्रदेशसभा : विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

२८ भदौ, विराटनगर । कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । विषयगत समितिका सभापतिको निर्वाचन तालिकाअनुसार बिहीबार मनोनय दर्ता र आज शुक्रबार निर्वाचन हुने जानकारी गराएका थिए ।

न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईँ, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले मनोनयन दर्ता गराएका थिए।

प्रत्येक समितिमा एक–एकजनाले मात्र मनोनय दर्ता गराएकाले उनीहरू निर्विरोध निर्वाचन भएको घोषणा गरिएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। कोशी प्रदेशसभा नियमावली, २०७४ को पहिलो संशोधनसमेत नियम १३४ बमोजिम निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

प्राप्त जानकारीअनुसार समितिका सभापतिहरूमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेस संसदीय दलतर्फ तीन–तीनजना र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलका तर्फबाट एकजनाले उम्मेदवारी दिएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।