समाचार

सभामुखले बोलाएको बैठक टुङ्गोमा पुगेन

३० भदौ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकमा ठोस सहमति हुन नसकेको बताइएको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा ‘जनयुद्ध’का सम्बन्धमा व्यक्त भएको धारणाप्रति आफूहरुको विरोध रहेको र त्यसलाई सच्याउनुपर्ने बताए । उनले बैठकमा व्यक्त भएको धारणाका आधारमा आफ्नो संसदीय दलको बैठकमा छलफल गर्ने उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखका विषयमा नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतकले आफूहरुले त्यस्तो केही गर्न नलागेको भन्ने जानकारी गराउनुभएको बताए । उनले भने, “हामीले धन्यवाद दिँदै आगामी दिनमा दूराशय नहोस् भन्यौँ ।”

एपसभामुख रानाले पदीय आचरण अनुकूल काम नगरेको भन्दै सदनमा सत्तापक्षका सांसदहरुले धारणा राखेका थिए ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनको बैठकलाई सहज रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले संसद्को प्रतिष्ठा राख्ने विषयमा सबै राजनीतिक दल र सांसदहरुको कर्तव्य हुने उल्लेख गरे । उनले उपसभामुखका विषयमा सत्तापक्षका बीचमा आन्तरिक रुपमा कुराकानी भएपनि कुनै निर्णय नभएको जानकारी दिए ।

अमेरिकाको प्रवेशाज्ञाका सन्दर्भमा उपसभामुखले गरेको पत्राचारका सन्दर्भमा अज्ञानताबस कमजोरी भएको विषय सबैले स्वीकार गरेको उनको भनाइ थियो । प्रतिनिधिसभाको अघिल्लो बैठकमा एमालेका सांसदहरुले उपसभामुखलाई राजीनामा दिन आग्रह गरेका थिए ।