३१ भदौ, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले आज अन्तिम प्रतिवेदन बुझाउँदैछ । दिउँसो १ बजे बस्ने संसद् बैठकमा समितिले प्रतिवेदन बुझाउने कार्यसूची छ । नागरिकको बचत सहकारीहरूले हिनामिना गरेको भन्दै लामो समयदेखि संसद् अवरुद्ध भएपछि २०८१ जेठ १५ गते संसदीय छानविन विशेष समिति गठन गरिएको थियो ।
स्रोतका अनुसार समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्क अध्यक्ष जितेन्द्रबाबु राई,तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलगायतलाई दोषी ठहर गरेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री र रास्वपाका सभापति लामिछानेले समितिमा दिएको जवाफ र छानविन विशेष समितिले गरेको अध्ययन प्रतिवेदनबीच तालमेल मिलेको नदेखिएको स्रोतले बताएको छ । बचत हिनामिना गर्ने विभिन्न २९ वटा सहकारीमाथि समितिले छानविन गरेको छ । समितिले अन्य विभिन्न सहकारीका बचत रकम अपचलन गर्नेहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन सिफारिससमेत गरेको छ।
विभिन्न सहकारीका अध्यक्ष, सञ्चालक,प्रबन्ध निर्देशक गरी २४ जना फरार छन् । समितिले लिखितरुपमै गृहमन्त्रीलाई फरार भएकाहरूलाई झिकाउन निर्देशन दिएपनि समितिको अन्तिम प्रतिवेदन तयार हुँदासमेत उनीहरू पक्राउ परेनन् ।
सरकारले सहकारीको रकम अपचनलबारे अनुसन्धान गर्न सात सदस्यीय छानविन समिति गठन गरेको थियो। समितिमा सभापति थापासहित सरिता भुसाल, दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य छन् ।





