समाचार

जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक : मन्त्री विक

३१ भदौ, काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

आज यहाँ विश्व बैंक र एसियाली प्रकोप पूर्वतयारी केन्द्र एडिपिसिले “आइकेयर इनोभेसन फन्ड”सम्बन्धी एक दिने कार्यशाला आयोजना गरेको थियो । उक्त कार्यशालामा जलवायु परिवर्तन रोकथामका लागि डिजीटल प्रविधिको सदुपयोग गर्नेबारे र नविन शैली कसरी अपनाउने भन्नेबारे छलफल भएको थियो ।

सो कार्यशालामा बोल्दै राज्यमन्त्री विकले जलवायु परिर्वतनको नकारात्मक असर सबैभन्दा बढी सीमान्तकृत समुदायमा देखा परेको बताए । उनले महिला, बालबालिका, वृद्धवृद्धा, आदिवासी समुदायलाई जलवायुको प्रभावबाट जोगाउन स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने धारणा राखे । “स्थानीय सरकार बढी चनाखो हुनुपर्छ,” उनले भने, “वन मन्त्रालयले सबै तहसँग साझेदारी गरेर जलवायु परिवर्तनमा काम गर्न तयार छ ।”

जलवायु विज्ञ डा विमलराज रेग्मीले नेपाल जलवायु परिवर्तनको जोखिमयुक्त देश भएको बताउँदै निजी क्षेत्रसँगै सरकारसमेतले संवेदनशील भएर काम गर्नुपर्ने बताए । सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले प्रविधिको प्रयोग गरेर विपद्का असरलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्राडा इन्द्रजीत पल, शिसोन महर्जन, ई सुरज गौतमलगायतले परियोजना कार्यपत्र प्रस्तुत गरेका थिए ।