११ असोज, न्यूयोर्क । द्वन्द्वलाई लिएर अमेरिकी रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरूद्ध निरन्तरको आलोचनापछि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।
जेलेन्स्कीले एक दिनअघि पहिले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता भएको थियो । नेताद्वयले किएभको युद्धलाई समर्थन गर्ने वचन दिएका थिए।
जेलेन्स्कीले द्वन्द्व अन्त्यका लागि ‘सम्झौता गर्न नमानेको’ आरोप लगाएका ट्रम्पले न्युयोर्कस्थित ट्रम्प टावरको गगनचुम्बी भवनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ९ः४५ बजे भेट हुने बताएका छन् ।
जेलेन्स्कीले न्युयोर्कर पत्रिकालाई दिएको टिप्पणीबाट ट्रम्प रुष्ट भएपछि अमेरिकी सञ्चारमाध्यमले यसअघि नै उक्त बैठक अघि नबढ्ने बताएका थिए। जेलेन्स्किीले उक्त पत्रिकासँग युद्ध कसरी रोक्ने भन्नेबारे रिपब्लिकन पार्टीलाई वास्तविक ज्ञान नभएको बताउनुभएको थियो ।
ट्रम्पले बुधबार नर्थ क्यारोलिनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै भनेका थिए, “सम्झौता गर्न इन्कार गर्ने व्यक्ति जेलेन्स्कीलाई हामी अरबौं डलर दिइरहेका छौं ।”
जेलेन्स्की यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ । उहाँले मस्कोको आक्रमणको तेस्रो वर्षमा युद्धभूमिमा सङ्घर्ष गरिरहेको आफ्नो देशको युद्धको लागि समर्थन सहयोग बढाउने अभियानलाई जारी राख्रेका थिए ।
युक्रेनी नेताले बिहीबार ह्वाइट हाउसमा बाइडेन र ह्यारिससमक्ष उहाँकै शब्दमा ‘विजय’ योजना प्रस्तुत गर्नुभएको थियो भने बाइडेनले किएभका लागि करिब आठ अर्ब अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेका थिए
सहायता प्याकेजको घोषणाका समय जेलेन्स्कीको छेउमा उभिएकी ह्यारिसले नाम उच्चारण नगरिकन ट्रम्पलाई सङ्केत गर्दै भन्नुभयो, “मेरो देशमा केही यस्ता व्यक्ति छन् जसले युक्रेनलाई आफ्नो सार्वभौम भूमिको ठूलो हिस्सा छोड्न बाध्य पार्नेछन्।”
बाइडेनले जेलेन्स्कीसँगको छुट्टै भेटमा सन् २०२२ को फेब्रुअरीमा रूसले सुरु गरेको युद्धमा ‘रूसको विजय नहुने’ बताउनुभएको थियो ।
आफ्नो ट्रेडमार्क सैन्य शैलीको पहिरनमा सजिएका जेलेन्स्कीले भन्नुभयो, “हामी युक्रेनी र अमेरिका सँगसँगै उभिएका छौ र यसका लागि खुशी पनि छौँ ।”
यद्यपि, नोभेम्बरमा हुने अमेरिकी चुनावले युक्रेनलाई उसको सबैभन्दा ठूलो समर्थकबाट प्राप्त समर्थनलाई कसरी उकास्न सक्छ भन्ने कुरा ट्रम्पसँगको विवादले उनको भ्रमणलाई धुमिल बनाएको छ।
ट्रम्पले लामो समयदेखि युक्रेनका लागि अमेरिकाले उपलब्ध गराउँदै आएको अर्बौं डलरको सहयोगको आलोचना गर्दै आएका छन् । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साताको सुरुमा एक र्यालीमा रूसले हिटलरलाई हराएकाले युक्रेनले जित्न नसक्ने बताएका थिए ।
जेलेन्स्कीले बाइडेनको गृहनगर पेन्सिलभेनियामा रहेको हतियार कारखानाको भ्रमण गरेपछि आक्रोशित रिपब्लिकनहरूले पक्षपातपूर्ण राजनीतिक कार्यक्रम आयोजना गरेको भन्दै युक्रेनी राजदूतलाई बर्खास्त गर्न युक्रेनसँग माग गरेका छन्।




