अन्तर्राष्ट्रिय

इरान जस्तोसुकै इजरायली हमलाको जवाफ दिन तयार छ : इरानी सञ्चारमाध्यम

२० असोज, तेहरान । इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

“इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ”, सशस्त्र सेनाको सुचना उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले बताएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स आइआरजिसीले मङ्गलबार तेहरानसँग सम्बद्ध समूहका नेताहरू आक्रमणमा मारिएको प्रतिशोधमा इजरायलमा करिब २०० वटा मिसाइल आक्रमण गरेको थियो ।

“यदि इजरायलले आक्रमण गर्यो भने इरानले प्रतिआक्रमण गर्नेछ भन्नेमा कुनै शङ्का हुनेछैन”, तस्निमले जनायो ।

बेरुतमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आइआरजिसीका शीर्ष जनरल अब्बास निलफोरोसन हत्याको बदलामा मङ्गलबार इरानले इजरायलमाथि दोस्रो प्रत्यक्ष मिसाइल आक्रमण गरेको हो ।

विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायली आक्रमणको बदलामा इरानले आनुपातिक वा अझै कडा प्रतिक्रिया दिनसक्ने चेतावनी दिएका थिए ।

इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई विश्वको १० सबैभन्दा ठूलो तेल उत्पादकमध्ये एक इरानको तेल साइटलाई लक्षित आक्रमण नगर्न सल्लाह दिएका छन्।