अन्तर्राष्ट्रिय

उद्योगपति रतन टाटालाई श्रद्धाञ्जलि दिनेको मुम्बईमा भीड

२४ असोज, मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरुको भीड जम्मा भएको छ ।

बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’सहितको विशाल अन्तर्राष्ट्रिय उद्यममा रूपान्तरण गरेका थिए ।

मुम्बईले उनको निधनमा एक दिन शोक मनाउने घोषणा गरेको छ । टाटाको पर्थिव शरीरलाई बिहीबार दिउँसो अन्त्येष्टि गरिने छ।

भारतको राष्ट्रिय दैनिक ‘द हिन्दू’ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा उहाँलाई ‘भारतीय उद्योगको एक टाइटन’ को संज्ञा दिँदै उहाँको निधनको खबर छापेको छ । हिन्दुस्तान टाइम्सले उनको निधनबाट ‘भारतले आफ्नो मुकुटको गहना गुमाएको’ उल्लेख गरेको छ ।

एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले यो टाटा समूहका लागि मात्र नभई हरेक भारतीयका लागि ठूलो क्षति भएको बताएका छन्।

टाटाको जन्म सन् १९३७ मा मुम्बईमा पारसीपरिवारमा भएको थियो, जुन एक गौरवशाली तर घट्दो समुदाय हो जसले बेलायती शासनअन्तर्गत शहरको व्यापारिक मामिलामा ठूलो भूमिका खेलेको थियो।

उनले न्युयोर्कको कर्नेल युनिभर्सिटीबाट स्नातक गरेपछि आर्किटेक्टको रूपमा आफ्नो जीवनलाई भारतप्रति समपर्ण गरेको थिए । पढाइ सके लगत्तै उनी स्वदेश फर्की स्वदेशी उद्योगको श्रीवृद्धिका लागि योगदान गरेका थिए ।
टाटाकी हजुरआमाको एक आग्रहपछि उनी सन् १९६२ मा भारत फर्किनुभई विशाल पारिवारिक व्यवसायमा सामेल भएको थियो ।

उनले सन् १९९१ मा पारिवारिक साम्राज्यको बागडोर सम्हाल्नुभएको थियो र त्यस वर्ष भारतले भर्खरै सुरु गरेको आमूल मुक्त बजार सुधारको लहरलाई नेतृत्व दिएका छन् ।
टाटाको २१ वर्षको कार्यकालमा नुनदेखि स्टिलसम्म फैलिएको टाटा समूहले आफ्नो विश्वव्यापी पदचिन्ह विस्तार गरेको छ ।

उनले सन् २००८ मा बेलायतको घाटामा रहेका जगुआर र ल्यान्ड रोभर कार निर्माताहरूलाई २।३ अर्ब डलरमा किन्ने निर्णयले सुरूमा उनको निर्णय कतै गलत भएको त होइन भन्नेहरू देखिएपनि टाटा समूह र उनको लगनशीलताले दुबै ब्रान्डहरूको पुनर्संरचना गर्न र अर्को वर्ष तिनीहरूलाई नाफामा फिर्ता गर्न सक्षम भएको थियो ।

टाटा ग्रुपले उनको परोपकारी कार्यले लाखौंको जीवनलाई छोएको बताएको छ ।

“शिक्षादेखि स्वास्थ्यसेवासम्म, उनको पहलले गहिरो छाप छोडेको छ जसले भावी पुस्तालाई फाइदा पुर्याउनेछ,” टाटा कम्पनीले भनेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई ‘दूरदर्शी व्यवसायी, दयालु आत्मा र असाधारण मानिस’ भनेका छन् ।

मोदीले भारतको सबैभन्दा पुरानो र प्रतिष्ठित व्यापारिक घरानामध्ये एकलाई स्थिर नेतृत्व प्रदान गरेकोमा टाटाको प्रशंसा गरेको छन् ।