प्रदेश 1

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

३० असोज, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआएका छन् ।

उनले भने, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआएका छन्। नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राख्रेका छन् ।

“विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भने ।

सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आउनुभएको छ । “कहिले चार÷पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन”, उनले भने। लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन् । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए ।

व्यापारबाट घर खर्च कटाएर मासिक ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उनलाई साथ दिँदै आएका छन् । “पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उनले भने ।

सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन् । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उनले एउटा सिलौटो चार सयदेखि ५ सय ५० सम्ममा बिक्री गर्दैआएका छन् । एक जोर जाँतो एक हजारदेखि एक हजार तीन सय सम्ममा बिक्री गर्दैआएका छन् । पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो ।