समाचार

देश विकासका लागि सरकार र राजनीतिक दलबीच सहकार्य हुनुपर्ने : राष्ट्रपति पौडेल

२४ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसर आज यहाँ आयोजित कार्यक्रममा उनले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताए ।

“मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत आलोक हो”, उनले भने, “लोकतन्त्रको यही आलोकलाई मानेर हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन ।”

मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने युवाको सपना साकार पार्ने, उनीहरुका चाहना यही व्यवस्थामा पूरा गर्न सम्भव छ भनेर जनतालाई विश्वास दिलाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपतिले बताए। “मुलुकबाट विसङ्गति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडिएका जनताको आवाज सुनेर उनीहरुका समस्या सम्बोधन गर्न सरकारले नीति एवं कार्यक्रम तर्जुमा गरी तीनलाई कार्यान्वयन गर्नुपर्छ”, राष्ट्रपति पौडेलले भने।

विश्वेश्वरप्रसाद कोइरालाले गणेशमान सिंहकाबारेमा भन्ने गरेको कुरा स्मरण गर्दै उनले भने, “गणेशमानजी साहसी र सङ्घर्षशील मात्र छन्, उनी भविष्य द्रष्टा पनि छन् । उनले भनेका अधिकांश कुरा सत्य सावित हुन्थे ।” नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा गणेशमान सिंहको योगदानलाई नेपाली जनताले कहिल्यै नबिर्सने उनले बताए । “लोकतान्त्रिक सिद्धान्त, मूल्यमान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नु हुने गणेशमानजीले यसको मूल्यमा कहिल्यै सौदाबाजी गरेनन्, उनको त्यही सद्गुण नै लोकतन्त्रप्रेमीहरूका लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।

लोकतान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्यमान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रका लागि हितकर हुन सक्दैन भने ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानको समीक्षा गरी आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताए । “संविधानका सबै पक्षको वस्तुनिष्ठ समीक्षा गरी आवश्यकता र नागरिक आकाङ्क्षाअनुसार संविधान संशोधन गर्न सकिन्छ”, उनले भने ।

प्रतिष्ठान अध्यक्ष भीमसेन दास प्रधानले असल राजनीतिज्ञ तथा नेताको पहिचान क्रान्तिका क्रममा नभई जिम्मेवारी पाउँदा देखिने चर्चा गर्दै गणेशमान सिंह विभिन्न राजनीतिक आन्दोलनको कुशल नेतृत्वकर्ता छन् भने। देशमा समावेशिताको ‘एजेण्डा’ स्थापना गर्नमा गणेशमान सिंहले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताए ।

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले नेताको चरित्र कस्तो हुनुपर्छ भनेर गणेशमान सिंहबाट सिक्नुपर्ने बताए ।
त्यसअवसरमा लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा योगदान गरेबापत प्राध्यापक कपिल श्रेष्ठलाई ‘जनआन्दोलन स्वर्णपदक’बाट सम्मान गरिएको छ ।