५ मङ्सिर, काठमाडौँ । काठमाडौँस्थित नक्सालमा सात देशका कलाकारले सिर्जना गरेका कलाको प्रदर्शनी सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा यहाँ ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ ।
कार्यक्रमको प्रतिनिधिसभा सदस्य रघुजी पन्त र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्तरूपमा उद्घाटन गरे । प्रतिनिधिसभा सदस्य पन्तले यस्ता कार्यक्रममार्फत कला, संस्कृतिको आदानप्रदान हुने विचार व्यक्त गे । उनले यस्ता प्रदर्शनी र कार्यशाला विभिन्न देशमा आयोजना हुन जरुरी रहेको र यसले पर्यटन विकासका साथै आपसी सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने बताए ।
द्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमले सातवटा देशका कलाकारसँग साक्षत्कार गर्ने अवसर दिनुका साथै कला, संस्कृतिको आदानप्रदानमा सहयोग गरेको बताए ।
श्रीलङ्काका कलाकार महेस चतुर्रङ्ग एकनायकेले नेपाल आएर कला प्रदर्शनीमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दै सात देशका कलाको अभ्यास शैली, संस्कृतिका बारेमा बुझ्ने अवसर मिलेकोमा आयोजकलाई धन्यवाद दिए ।
बङ्लादेशकी कलाकार रुविना नार्गिसले यस कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताए । सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टसका अध्यक्ष अरूप चन्द्रले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा कार्यक्रम आयोजना हुनु नै खुसीको कुरा भएको बताए ।
प्रदर्शनीमा नेपालसँगै भारत, श्रीलङ्का, मौरिसस, बङ्गलादेश, स्पेन, अर्जेन्टिनाका ७५ जना कलाकारका एक सय ५० भन्दा बढी कलाकृति समावेश गरिएको छ । आजदेखि सुरु भएको प्रदर्शनी मङ्सिर ७ गतेसम्म चल्ने प्रतिष्ठानले जानकारी दिएको छ ।