१५ मङ्सिर, दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वर्गीय मतिकुमारी रेग्मीले मुलुकमा लोकतन्त्रको स्थापनाका लागि पुर्याएको योगदानको पार्टीले सम्मान गर्ने बताएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ निवासी रेग्मीको निधन भएको आज १०औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिमा उहाँले स्वर्गीय रेग्मी र उनका परिवारले मुलुकका लागि पुर्याएको योगदानलाई भुल्न नमिल्ने बताए ।
मन्त्री पौडेलले आगामी दिनमा पनि रेग्मी परिवार कुनै पनि सङ्कटका बेलामा लोकतन्त्रका पक्षमा सतिसालझै दृढ उभिने विश्वास व्यक्त गरे । मुलुक तथा पार्टीका लागि उनको परिवारले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै स्वर्गीय रेग्मीले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो ।
शोकसभामा नेपाली काग्रेस जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, शुक्लागण्डकी नगरसमिति सभापति गोपी गुरुङलगायत सहभागी छन् ।