प्रदेश 1

झापामा मागको एक तिहाइ मात्र बेसार उत्पादन

१६ मङ्सिर, झापा । झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको छ । भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । झापामा गत वर्ष दुई य ३० हेक्टरमा करिब एक हजार आठ सय ५६ टन बेसार उत्पादन भएको थियो ।

“उत्पादित बेसारलाई प्रशोधन गरेपछि झण्डै चार लाख किलो धुलो बेसार हुन्छ”, उनले भने, “जिल्लामा बेसार खपतका हिसाबमा हेर्ने हो भने यो ३० प्रतिशतको हाराहारीमा पुग्छ ।” झापामा इलाम र सुनसरीबाट बेसार आउने गरेको विष्ट बताउछन् । जिल्लामा स्थानीय जातको बेसारखेती हुने गरेको छ । झापाको कचनकवल, दमक, अर्जुनधारालगायत पालिकामा बेसारखेती हुने गरेको छ ।

जिल्लामा खुलेका सानाठूला मसला प्रशोधन उद्योगका कारण बेसारखेतीतर्फ कृषक आकर्षित हुन थालेका छन् । कचनकवलको साथी कृषिफर्म, बिर्तामोडको मेची खाद्य प्रशोधन उद्योग र दमकको सेतुमारी कृषि सहकारीले बेसार प्रशोधन गर्दै आएको छ । यी तीन संस्थालाई प्रशोधन मेसिन र आवश्यक पूर्वाधार निर्माणका लागि ६० लाख अनुदान उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “दमकमा कृषि सहकारीले सदस्यलाई बेसार उत्पादन गर्न प्रोत्साहन गर्न थालेपछि खेती गर्ने कृषकको सङ्ख्या वृद्धि भएको छ”, प्रमुख विष्टले भने, “झापामा बेसारखेतीको सम्भावना पनि धेरै छ ।”

झापाका भारतीय सीमावर्ती क्षेत्रबाट वैध अवैध रुपमा बेसार भित्रिँदा चुनौती देखिएको विष्टले बताउनुभयो । “भारतको बेसार सस्तो छ”, उनले भने, “त्यसले चुनौती पनि देखिन्छ ।” कृषकलेसमेत माटोसहितको बेसार बेच्न लाँदा उचित मूल्य नपाउने अवस्था छ । आफूले उत्पादन गरेको बेसारलाई सफा बनाएर बेच्न लाँदा राम्रो मूल्य पाउने विष्टको भनाइ छ । झापामा गत वर्ष प्रतिकिलो गोटा बेसार रू एक सय ३० देखि रू एक सय ५० सम्ममा बिक्री भएको थियो । बजारमा धुलो बेसारको मूल्य रू तीन सय ५० देखि रू पाँच सयसम्म रहेको छ ।