अन्तर्राष्ट्रिय

कङ्गोमा चार लाख भन्दा बढी विस्थापित

१२ माघ, किन्सासा । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो डीआरसी मा द्वन्द्व बढ्दै गएपछि सन् २०२५ को सुरुदेखि चार लाखभन्दा बढी मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले जनाएको छ ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त यूएनएचसीआर ले पूर्वी डीआरसीमा नागरिक र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू आइडीपीको संरक्षणको बारेमा गम्भीर चिन्तित रहेको एक विज्ञप्तिमा उल्लेख भएको छ ।
यी क्षेत्रहरूमा लडाकुहरू बीचको लगातार झडपले दक्षिण किभु र उत्तर किभु प्रान्तमा नागरिकहरूको लागि सुरक्षा वातावरण बिग्रँदै गएको छ, जहाँ पहिले नै ४६ लाख आइडीपीहरूको घर छ ।

उत्तरी किभु प्रान्तको साके सहर र यसको वरपरका क्षेत्रमा सरकारी सेना र मार्च २३ आन्दोलन एम२३ विद्रोहीबीच शुक्रबार बिहानैदेखि हिंसात्मक झडप जारी छ । उत्तरी किभु प्रान्तको राजधानी गोमाको वरिपरि ठूलो विस्फोटको आवाज सुनिएको थियो ।

तीव्र हिंसाको सामना गरिरहेका तीन क्षेत्र गोमा, साके र काले बीचका सबै मानवीय मार्गहरू जारी युद्धका कारण बन्द गरिएको यूएनएचसीआरले शुक्रबार जनाएको छ । प्रतिवेदनले घाइते व्यक्तिहरूको आगमनले अस्पतालको आपतकालीन क्षमताहरूलाई तनावपूर्ण बनाएको जनाएको छ ।
एम२३ द्वारा जारी गोलाबारीले गोमा र वरपरका क्षेत्रहरूमा विस्थापित बासिन्दाहरूमा व्यापक त्रास फैलाएको छ । धेरै विदेशी दूतावासहरूले अलर्ट जारी गरेका छन् । आफ्ना नागरिकहरूलाई उत्तरी किभु छोड्न सल्लाह दिएका छन् ।
उत्तरी किभुमा डीआरसी सेनाका प्रवक्ता गुइलाउम एनजीके काइकोले शुक्रबार एम२३ ले कब्जा गरेको साकेलाई मुक्त गर्ने प्रयास अझै जारी राखेको जनाएको छ ।

“हामीले गोमातर्फको शत्रुको अग्रपंक्तिलाई रोकिसकेका छौँ ।”
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस वर्षको सुरुदेखि नै एम२३ ले गरेको आक्रमणको निन्दा गरे ।