गण्डकी प्रदेश

नन्दन ताल संरक्षण र प्रवर्द्धनमा पाल्हीनन्दन गाउँपालिका

२१ माघ, बर्दघाट सुस्ता पश्चिम । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले वडा नं ६ सनईमा अवस्थित नन्दन तालको संरक्षण एवं प्रवर्द्धन सुरु गरिेको छ । संरक्षणको अभाव अतिक्रमणमा परेको ताललाई पुरानै अवस्थामा फर्काउनका लागि पहल सुरु गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

उनले भने, “ताललाई पुरानै स्वरूपमा फर्काउनका लागि गाउँपालिकाले पहल सुरू गरेको छ । विभिन्न समयमा तालेको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरेर अगाडि बढेका छौँ ।”

नन्दन तालको क्षेत्रफल करिब ८० बिघा भए पनि अहिले अतिक्रमणका कारण साँघुरिँदै गएको छ । ताल क्षेत्रमा स्थानीयले खेतिपाती गरिरहेका छन् ।

केही वर्षअघिसम्म तालमा माछापालन हुँदै आएको थियो । जसका लागि ठेक्का समेत लाग्ने गरेकोमा पछिल्लो समय ताल अतिक्रमण भएपछि हुन छाडेको वडा नं ६ का वडाध्यक्ष किशान यादवको भनाइ छ ।

ताललाई तालकै अवस्था ल्याउनुपर्छ भनेर विभिन्न समयमा आवाज उठे पनि संरक्षणको ठोस काम हुन नसको स्थानीय सन्दीप यादवले बताए । उनले भने, “तालको क्षेत्रमा भएको अतिक्रमणलाई खाली गराउनका लागि मालपोत कार्यालय, नापी कार्यालय तथा जिल्ला प्रशासनको पनि पहलकदमी आवश्यक छ ।”