अन्तर्राष्ट्रिय

सिरियाली अन्तरिम राष्ट्रपति मङ्गलबार टर्कीए जाने

२१ माघ, इस्तानबुल । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले गत डिसेम्बरमा बशर अल असदलाई सत्ताच्युत गरेपछि दोस्रो अन्तर्राष्ट्रिय भ्रमणका लागि मङ्गलबार टर्कीको भ्रमण गर्ने टर्कीएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले आइतबार साउदी अरबको भ्रमण गरी सिरियाको आफ्नो नेतृत्वलाई समर्थन र सहयोगका लागि कुटनीतिक पहल गरेका थिए। युद्धग्रस्त सिरियाले पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न र आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न धनी खाडी मुलुकहरूलाई खोजिरहेको छ ।

“सिरियाली अन्तरिम राष्ट्रपति अल–शारा टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानको निमन्त्रणामा मङ्गलबार अङ्काराको भ्रमण गर्नुहुनेछ,” राष्ट्रपति कार्यालयका सञ्चार प्रमुख फहरेटिन अल्टुनले सोमबार एक्समाफैत् जानकारी दिए ।

शारासँग घनिष्ठ सम्बन्ध रहेको टर्कीएले सिरियामा आफ्नो कूटनीतिक नियोग पुनः खोलेको छ र आफ्ना गुप्तचर प्रमुख र विदेशमन्त्रीलाई नयाँ नेतासँग वार्ताका लागि पठाएको छ ।

टर्कीएको राजधानी अङ्कारास्थित राष्ट्रपति भवनमा एर्दोआन र अल–शाराबीच हुने भेटवार्ता सिरियामा आर्थिक पुनरुत्थान, दिगो स्थिरता र सुरक्षाका लागि चाल्नुपर्ने संयुक्त कदममा केन्द्रित हुने अल्तुनले बताए ।

“सिरियाले लामो समयदेखि सत्तामा रहेका बसर अल असदलाई सत्ताच्युत गरी ‘आफ्नो स्वतन्त्रता पुनः प्राप्त गरेपछि’ पुनः स्थापित भएको टर्कीए–सिरियासम्बन्ध थप मजबुत हुनेछ र यसले नयाँ आयाम प्राप्त गर्नेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने।