अन्तर्राष्ट्रिय

केन्यामा सुन खानी दुर्घटना : १२ जनाको उद्धार

२२ माघ, नैरोबी । पश्चिमी केन्यामा सुन खानी भत्किँदा फसेका १२ जना खानी कामदारको उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार पुष्टि गरेका छन् ।

दुर्घटना हुँदा २० जनाभन्दा बढी खानीमा काम गरिरहेको भएपनि प्रहरी, जिल्ला विपद् व्यवस्थापन टोली र मानवीय संस्थाले मङ्गलबार बिहानै गरेको उद्धार कार्यमा सबैलाई निकाल्न सफल भएको शिन्यालु उपकाउन्सिलका प्रहरी प्रमुखले बताए ।

“फसेका १२ खानी कामदारको उद्धार गरिएको छ,” केन्या रेड क्रस सोसाइटीले पुष्टि गरेको छ ।

परराष्ट्र मामिलाका लागि क्याबिनेट सचिव मुसलिया मुदावादीले खानी समुदायलाई उद्योगमा सुरक्षा उपायहरूमा बढी जोड दिन आग्रह गरे ।

प्रत्यक्षदर्शीका अनुसार खानीमा काम गर्नेहरूले खन्ने क्रममा संरचना भत्किएपछि भित्र रहेका मानिसका लागि जोखिमपूर्ण अवस्था सिर्जना भएको थियो ।

काकामेगा काउन्टी पश्चिमी केन्याको सबैभन्दा ठूलो खानी कार्यहरूको भण्डार हो ।

केन्यामा खानीहरूलाई कमजोर सुरक्षा सावधानीका कारण खतरनाक मानिन्छ । हालका वर्षहरूमा बारम्बार खानी भत्किने घटनाले धेरै जनाको ज्यान लिएको छ ।